कपिलवस्तुका व्यवसायिक मौरीपालक किसानहरुले सामुहिक रुपमा मह उत्पादक सहकारी संस्था गठन गरि राम्रो आम्दानी गर्न थालेका छन् । कृषकहरुले तीन वर्षको अवधिमा राम्रो आम्दानी गर्न सफल भएको मौरी पालक सहकारी संस्थाका कृषक रामनारायण अधिकारीले वताउनुभयो । सहकारीले दश दिनमा एकदेखि डेढ क्विन्टलसम्म मह उत्पादन गर्ने गरेको छ । मह पेल्ने ठाउँमै उपभोक्ताले मह खरिद गर्नसक्ने व्यवस्था मिलाइएको सहकारी संस्थाका अध्यक्ष लिलापति घिमिरेले जानकारी दिनुभयो । मौरीमा बेलाबखत देखापर्ने रोगव्याधीको उपचारका निम्ति सहकारीले एक जना कृषि प्राविधिक समेत व्यवस्था गरेको छ । शुद्ध महको माग बढी भएकाले उपभोक्ताको माग पूरा गर्न कठिनाइ भइरहेको स्थानीय कृषक गोपाल भण्डारीले जानकारी दिनुभयो । माग पूरा गर्न यो वर्षदेखि महको घार थप्ने योजना बनाइएको संस्थाले जनाएको छ । शुद्ध महको माग बढेपछि २८ जनाबाट सुरु भएको सहकारीमा अहिले ६७ जना सेयर सदस्य भएका छन् । सहकारीले सदस्यलाई लगानी गरेबापत वार्षिक आठ केजी मह दिने व्यवस्था गरेको छ ।
Loading...